पोखरामा फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशन अधिवेशनबाट बलराम गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्ष पद र सहकोषाध्यक्ष पदमा निर्वाचन भए पनि अन्य पदमा निर्विरोध भएको हो । निर्वाचनमा २ सय ४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत प्राप्त गरे ।
सहकोषाध्यक्ष पदमा तारा विक १ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सोभित परियारले ६७ मत प्राप्त गरेको नरबहादुर श्रेष्ठले जानकारी दिए । १० मत भने बदर भएको थियो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्र भुजेल, सचिवमा शिव जिसी, कोषाध्यक्ष बुद्धिनाथ पाण्डे, सहसचिव धनबहादुर विक छन् । सदस्यमा हिरु पुन, बुद्धिबहादुर गुरुङ, शंकर गिरी, गंगा लामिछाने, आकास नेपाली, विष्णु पहारी, वेदनिधि पहारी, फूलमाया पौडेल, सदानन्द श्रेष्ठ र दीपक बोगटी छन् ।
नवगठित अध्यक्ष गिरीले फेवातालका ८ वटै घाटका डुंगा व्यवसायलाई थप व्यवस्थित, चुस्त र यात्रुमैत्री बनाउने बताए । फेवातालका सबै घाटमा गरी अहिले करिब ८ सय डुंगा छन् । ‘डुंगा र चालकको बिमा गर्ने, चालकहरुलाई हस्पिटालिटी तालिम दिने योजना छ,’ अध्यक्ष गिरीले भने, ‘बाराही घाटमा कम्प्युटर बिलिङ सुरु गरिसकेका छौँ । यात्रुमैत्री सेवा दिँदै उहाँका व्यवसायीको अधिकतम हितमा समिति लाग्नेछ ।’




