
इमेज ढुङ्गा स्मृति प्रतिभामा पुरस्कारबाट कक्षा ८ की छात्रा सगुन तिमिल्सिना सम्मानित भएकी छन् । मुक्तक मञ्च केन्द्रीय समितिले सञ्चालन गर्दै आएको पुरस्कार बाल मन्दिर मावि नदीपुरमा कक्षा ८ मा पढ्ने सगुनले जिल्ला स्तरीय विद्यालय मुक्तक प्रतियोगितामा प्रथम भएर हात पारेकी हुन् ।
साहित्यकार ईन्द्र ढुंगाना तिलस्मीले स्थापना गरेको अक्षयकोषबाट सगुनलाई नगद पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाली प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा कौशिला रिसालले मुक्तकलाई विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मुक्तक संरचनामा सानो भए पनि भावमा निकै गहन छ । यसलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नु जरुरी छ ।’
कार्यक्रममा साहित्यकार फडिन्द्र अकिञ्चनले ‘मुक्तकयात्रा २०८१’बारे परिचर्चा गरे । मुक्तक मञ्चले प्रकाशन गरेको समकालीन नेपाली मुक्तक सञ्चयन मुक्तक यात्रामा २ सय १४ सर्जकका मुक्तक संगृहीत छन् । कृतिमा ‘मुक्तकमा रहस्यको तीव्रता’ शीषकको प्राडा लक्ष्मणप्रसाद गौतमको आलेख र मुक्तक मञ्चको स्थापना र गतिविधिबारे पूर्वअध्यक्ष कृष्ण देवकोटाका आलेख पनि छन् ।
कार्यक्रममा मुक्तक मञ्च केन्द्रीय समितिका पूर्वअध्यक्ष रामजीप्रसाद आचार्यले ‘मुक्तकयात्रा २०८१’ प्रकाशनबारे प्रकाश पारे । आचार्य यसका प्रधानसम्पादकसमेत हुन् ।
कृतिमा मुक्तक मञ्चले चलाएका अभियान, गतिविधि, आजीवन सदस्यको नामावलीसमेत राखिएको छ । समीक्षक अकिञ्चनले मुक्तक यात्रा समकालीन नेपाली मुक्तकको एउटा प्राप्ति बनेको बताए । उनले नेपाली मुक्तकको उषा कालदेखि हालसम्मका सर्जकका मुक्तक र मुक्तक सिद्धान्तबारे आलेख राखेर प्रकाशित कृतिले यो विधामा लाग्न चाहनेलाई मार्गदर्शनसमेत गर्ने उल्लेख गरे ।
मुक्तक मञ्चकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष अम्बिका ओझा, कोषाध्यक्ष करण कपुर खनाल लगायतले बोलेका थिए ।