
पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा यही फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको शिवरात्रिका दिन उद्घाटन गरिने छ ।
धार्मिक आस्थासँगै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्यले त्यस क्षेत्रलाई एक पवित्र धामका रूपमा विकास गर्न लागिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो । पर्यटनको राजधानी पोखरा सबै हिसाबले पर्यटनमैत्री बन्दै सोही अनुरूपका पूर्वाधारहरू समेत निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्ति भाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने छ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले बताउनुभयो ।