आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा

२४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को तयारी सकिएको छ । सहारा क्लब पोखराको आयोजनामा २२ माघदेखि ३ फागुनसम्म हुने प्रतियोगिताको तयारी सकिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा स्वेदशी ९ र तीन विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने साहारा क्लब अध्यक्ष केशवराज बरालले बताए । थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँगै विभागीय टोलीहरू नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब प्रतिस्पर्धामा छन् ।

युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब आहारारा खेल्न आउँदै छन् । सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा समूह ‘ए’मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’मा थ्री स्टार, एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, संकटा र उज्वेकिस्तान छन् ।

उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने भएका छन् । ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार र आर्मी वाई पाएर सिधै क्वार्टरफाइनल खेल्ने छन् । प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

सर्वोकृष्ट खेलाडीले स्कुटर पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले २५ हजार नगदसँगै टफ्री पाउँदा ‘फेयर प्ले’को रूपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगिता गर्न एक करोड ४२ लाख २० हजार खर्च लाग्ने र एक करोड ५१ लाख आम्दानी हुने आयोजक छ ।