
आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि सञ्चालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट बिहीबारसार्वजनिक गरेको हो ।
१२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, बेलायत, उज्जेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुने भएको छ ।
फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुने छन् । समूह ‘ए’तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये युके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रिस्टार र उज्जेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लंग्रेन प्रिमियम बासमती राइस छ ।
प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।
प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० बालक आश्रित छन् ।