
पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविको नर्सरीदेखि कक्षा ३ सम्मका अभिभावकको भेला भएको छ ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान पु¥याउनुपर्ने बताए । उनले लामो समयदेखि सञ्चालनमा रहेको स्कुलले विभिन्न क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गरेको र अनुभवी शिक्षकले ढुक्कसँग अध्यापन गर्ने उल्लेख गर्दै अभिभावकहरुलाई अभिभावकिय दायित्व पनि पूरा गर्न आग्रह गरे ।
पोखरा महानगरका वरिष्ठ शाखा अधिकृत कृष्ण भण्डारीले शैक्षिक गतिविधिमा अब्बल देखिएको रेन्बोले संख्यात्मक र गुणात्मक दुबै दृष्टिकोणले उत्कृष्ट नतिजा हाँसिल गरेको देखिएको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक धनराज पुरी, लेखक तथा प्रशिक्षक सुशीला श्रेष्ठ, सहायक प्राचार्य टेकबहादुर गुरुङ, शिक्षकहरु लक्ष्मी सुनार, सिर्जना पोखरेल र शुष्मा गुरुङ लगायतले बोलेका थिए ।
विद्यालयका प्राचार्य बाबुराम बरालले विद्यालयका गतिविधिको बारेमा बताउँदै विद्यार्थीको तहगत रुपमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दे आएको र यसमा अभिभावकको साथले नै सहकार्यमा सजिलो भएको बताए ।
कार्यक्रममा २०८० को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीले स्वागत गीत तथा नृत्य, बाल गीत, चलचित्रका गीत, स्लो प्रस्तुति, जुम्बा नृत्य लगायतका सांगीतिक र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न जातजातिका भेषाभूषासँगै आफ्नो आफ्नो भाषामा परिचय पनि दिएका थिए ।
विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा प्रदर्शनसमेत गरेका थिए । २०५२ सालमा स्थापित विद्यालयमा हाल करिब १ हजार ५ सय विद्यार्थी छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाइ हुन्छ ।