एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ।
मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो खोलिदिएको हो।
यद्यपि नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ। विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि अहिले सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।
यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन। जसका कारण एकल आमाले हुर्काएका सन्तान नागरिकता लिनबाट बञ्चित भएका थिए।
‘कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्र वा अन्य कुनै प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएता पनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनि निजले स्वघोषणा गरेमा बाबुको पहिचान नभएको मानिनेछ र निजले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ।’
रकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधि सभामा दर्ता गरेको छ।
गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेका हुन्।
नागरिकता प्रदान गर्ने विषयमा अदालतमा मुद्दा परी ती मुद्दामा भएका आदेशसहितका विषयलाई सम्बोधन गरी कार्यान्वयन गर्नुपर्ने भएको र नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउनुपर्ने भएकोले संशोधन विधेयक दर्ता गरिएको गृह मन्त्रालयको भनाइ छ।




