पोखरामा मानसिक अस्पताल बनाउने तयारी

गण्डकी प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टिकृत मानसिक रोग अस्पताल खोल्ने तयारी थालेको छ । प्रदेशमै मानसिक रोगको उपचार सुलभ र सरल तवरले उपलब्ध गराउन अस्पताल खोल्न लागिएको हो ।

मानसिक रोग अस्पताल नाम राख्दा सर्वसाधारणमा नकारात्मक भाव उत्पन्न हुने भएकाले ‘मानसिक स्वास्थ्य प्रवद्र्धन केन्द्र’ नाममा उपचारसहित मानसिक समस्याबारे परामर्श र यसबारे सचेतना जगाउने खालका कार्यक्रमसमेत एकीकृत रुपमा चलाउने तयारी छ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्ला समन्वय समिति कास्कीको पोखरा–८, सिर्जनाचोकको जग्गामा अस्पताल स्थापना गर्नु उचित हुने बताए ।

सिर्जनाचोकमा जिल्ला समन्वय समिति(जिसस) कास्कीको करिब तीन रोपनी जग्गा छ । विश्व बैंक, विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय संघ, संस्था र सङ्घीय सरकारसँग सहकार्य गरी लगानी जुटाउने योजना छ । “जग्गा जिससले दिने करिब सहमति छ । जिसससँग करिब आठ करोड पैसा पनि छ,” मन्त्री पाठक भन्छन्, “सङ्घीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग यसबारे कुरा भइसकेको छ । प्रदेश सरकार यथाशीघ्र निर्णय गरी अघि बढ्छ ।”

स्वास्थ्यमन्त्री पाठकले प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले सुविधायुक्त अस्पताल अपरिहार्य भएकोमा जोड दिए । उनी भन्छन्, “गण्डकीमा मानसिक स्वास्थ्य समस्याकै कारण दैनिक औसत दुई जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । रोगको निदान, परामर्श, उपचारका लागि अस्पताल जरुरी छ ।”

जिसस कास्की प्रमुख लीलाधर पौडेल मानसिक स्वास्थ्य प्रवद्र्धन केन्द्र समग्र मानसिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । जिससले गत वर्ष मानसिक अस्पताल निर्माण योजना पारित गरेको जानकारी दिँदै उनले अस्पताल सञ्चालनबारे छलफल जरुरी भएको औंल्याए । “हामीसँग जग्गा छ, बिउँ पुँजी पनि छ,” उनी भन्छन्, “सञ्चालनको मोडालिटीमा पनि सहमति हुनुपर्छ ।”

मानसिक रोग विशेषज्ञ डा निर्मल लामिछाने मानसिक रोगको विशिष्टिकृत अस्पताल स्थापना हुनु राम्रो कुरा भए पनि यसअघि आवश्यक अध्ययन र योजना निर्माण हुनुपर्ने विचार राख्छन् ।

“निजी अस्पतालमा मानसिक समस्या भएका सबैको उपचार गर्ने अवस्था हुँदैन,” डा लामिछाने भन्छन्, “सरकारले यस खालको अस्पताल स्थापना गर्नु राम्रो हो तर प्रदेशमा मानसिक समस्याको अवस्था पहिचान र आवश्यकता अनुसारको अस्पताल स्थापना उचित हुन्छ ।”