
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालै भएको बैठकले एक सय ४९ जनालाई केन्द्रीय समितिमा थप गरेको छ । पार्टीको कपिलवस्तुमा रहेको केन्द्रीय कार्यालयमा हालै बसेको नवौं केन्द्रीय समितिको छैठौ पूर्ण बैठकले केन्द्रीय समिति विस्तारसहित विभिन्न निर्णय गरेको छ ।
नेकपा कास्की सेक्रेटरी उमेश सी केन्द्रीय सदस्य बनेका छन् । समाजसेवा, संगीत र खेलकुदमा समेत क्रियाशील उमेश श्रमिक समुदाय मोर्चा नेपालका सचिवसमेत हुन् ।
केन्द्रीय समितिमा गोरखाबाट काजी सी, नवलपुरबाट सुमन सी, बागलुङबाट प्रसिद्ध सी, स्याङजाबाट सागर सी, पर्वतबाट कृष्ण सी, म्याग्दीबाट फिल्टर सी र गोमा सी र कास्कीबाटै कुमार सी पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।
नेकपाले नेपाली विशेषताको समाजवादका पक्षमा आगामी फागुन २१ गतेबाट एक महिने जनमार्च सञ्चालन गर्ने भएको छ । झापामा उद्घाटन हुने जनमार्च फागुन २३ गते मोरङ, २५ गते धनुषा, २७ गते वीरगञ्ज, २९ गते हेटौडा पुग्नेछ ।
यस्तै, चैत २ गते चितवन, ४ गते नवलपुर, ६ गते बुटवल, ८ गते कपिलवस्तु, १० गते दाङ, १२ गते बाँके, १४ गते सुर्खेत, १६ गते कैलाली र १८ गते कञ्चनपुरमा जनमार्च हुने छन् ।
नेकपाले काठमाडौंमा जनसभा गर्ने र माओवादी धार र कम्युनिस्ट क्रान्तिकारीहरुसँग एकताको ढोका खुला राख्दै ध्रुविकरणलाई निरन्तरता दिने र पुस अन्तिममा काठमाडौंमा धु्रवीकरण कार्यक्रम गर्ने नेकपाले जनाएको छ ।