क्यानभासमा रकी माउन्टेनदेखि हिमालयसम्म

उत्तर अमेरिकाको सबैभन्दा लामो पर्वत शृङ्खला रकी माउन्टेन र एसियाको हिमालय पर्वत शङ्खलाका सौन्दर्य केही समरुप छन्, केही पृथकता । दुवै क्षेत्रका बासिन्दाको संस्कार, संस्कृति र वाङ्मय पनि बेग्ला बेग्लै छन् । यी बेग्ला बेग्लै संस्कति र सौन्दर्य सोमबार पोखरेली कलाकार र कलानुरागीले एकसाथ अवलोकन गरे ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठान, सिर्जनशील कलाकार समूह लगायतसँग सहकार्य गरी पोखरेली र विदेशी कलाकारको संयुक्त कला प्रदर्शनीमा यस्तो अवसर मिलाएको हो । ‘फ्रम न रकिज टु हिमालयज’ नाम दिइएको प्रदर्शनी मंगलबार र बुधबार भएको हो ।

प्रदर्शनीमा २३ नेपाली र १७ विदेशी कलाकारका एक÷एक कला राखिएको थियो । प्रदर्शनी भाव र माध्यमको दृष्टिले पनि विविधतापूर्ण बन्यो । पोखरेली कलाकारको प्रिय पानीरङदेखि एक्रेलिक, तेल रङ, मिक्स मिडिया, चारकोल, ग्लास, इन्कास्टिकका माध्यमबाट बनेका कला प्रदर्शनीमा छन् ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य सौरगङ्गा दर्शनधारी यस खालका कला प्रदर्शनी नेपाली र विदेशी कलाकारबिच पुल बन्ने बताउँछन् ि। “नेपाली र विदेशी कलाकारका संयुक्त प्रदर्शनीले दुवैतर्फका कलाकारबिच सम्बन्ध स्थापित त गर्छ नै, पृथक कला, संस्कति बुझेर आफूलाई समृद्ध बनाउन पनि सघाउँछ,” उनले भनिन् ।

महानगर प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखरा भ्रमणको एउटा आयाम कला सिर्जना पनि बन्न सक्ने बताए । “प्रकृति र संस्कृतिले धनी पोखरा कला सिर्जनाको गन्तव्य पनि बन्न सक्छ,” उनले भने, “यही वर्ष हामी पोखरा भ्रमण वर्ष घोषणा गर्दै छौँ । यो अवधिमा कलाको क्षेत्रमा पनि अन्तर्राष्ट्रिय कार्यक्रम गरौँ ।”

प्रदर्शनीमा अमेरिकी कलाकार एभी डुरेटको बुद्धको चित्र राखिएको छ । उनले एक दशकअघि सिर्जना गरेको बुद्धको चित्रले बुद्धत्व, ध्यान र शान्तिको भाव उतार्न खोजेको सुनाइन् । सेरामिक माध्यमबाट बनेको कला प्रदर्शनीमा राख्नुभएकी अर्का अमेरिकी कलाकार नेपालीका कलाबाट नयाँ कुरा सिक्न पाएकोमा दङ छिन् ।

आइटीका विद्यार्थी गौरव घिमिरले आफ्नी हजुरआमालाई समर्पण गरेको चित्रले धेरैको ध्यान खिच्यो । चारकोलको माध्यमबाट बनाएको चित्रमा उहाँले हजुरआमालाई चित्रण गरेको सुनाए । “हजुरआमासँगै पुतली पनि बनाएको छु,” उनी भन्छन्, “जसरी पुतलीले आफ्नै रङ्गीन पखेटाको सौन्दर्य बुझ्दैन, त्यसैगरी हामीले हजुरआमा, हजुरबाहरुको महत्वको बुझ्न सकेका छैनौँ भन्ने भाव देखाउन खोजेको छु ।”

कला प्रदर्शनीसँगै मङ्गलबार बहुआयामिक कलाबारे छलफल भएको छ । विदेशी कलाकारको नेतृत्व गर्नुभएकी केरी कारिल्लोले यस खालका प्रदर्शनीले कलाकारलाई भावना र सीपले जोड्ने बताइन् । ‘यस्ता प्रदर्शनीले हामीलाई भावना, विचार र सीपको माध्यबाट जोड्छ, कलाको विकासका लागि सहयोगसमेत गर्छ,’ उनले भनिन् ।