पोखरा २८ कालिकामा निशुल्क आयुर्वेद शिविर

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ ।

शिविरमा ४ सय २२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । सो शिविरमा १ सय ५ जनाको निःशुल्क सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य चौकीको समन्वयमा भएको शिविरको स्थानीय आयोजक पोखरा महानगरपालिका वडा नम्बर २८ हो ।

आयुर्वेद अस्पतालका प्रमुख डा शंकर गौतमले अन्तरंग सेवा सुरुआतअघि पूर्वतयारीका रुपमा केही स्थानमा शिविरहरु गर्न लागिएको बताए । ‘अहिलेसम्म बहिरंग सेवा दिइरहेका छौँ । एक महिनाभित्रै अन्तरंग सेवा सुरु गर्ने तयारी छ,’ गौतमले भने, ‘अन्तरंग सुरु गर्नुअघि दुई, तीन वटा शिविर गर्ने तयारी छ ।’

शिविरका लागि छुट्टै बजेट नरहे पनि स्वयंसेवी रुपमा काम गरी शिविर गरिएको हो ।
यो अस्पतालमा अन्तरंग सेवा सञ्चालनका लागि पूर्वाधार, जनशक्ति र उपकरणको समस्या छैन । यसपालि प्रदेश सरकारले १ कन्सल्टेन्ट, १ आयुर्वेद चिकित्सक, ४ स्टार्फ नर्स र २ अभ्याङ्कर्ता राख्न बजेट दिएको छ ।

आयुर्वेद चिकित्सा वैदिक कालदेखि चल्दै आएको चिकित्सा हो । २०२४ मा यो कार्यालय गण्डकी अञ्चल आयुर्वेद औषधालयका रुपमा वेगनासमा खुलेको थियो । २०५८ मा आयुर्वेद विभागबाट जिल्लामा रहेका साधारण औषधालयको आर्थिक कारोबार जिल्लास्तरीय कार्यालयबाट गर्ने निर्णय भए अनुसार यसलाई वेगनास आयुर्वेद औषधालय बनाइयो । संघीयतापछि प्रदेश अन्तर्गत गण्डकी प्रदेश सरकारको २०८१ मंसिर १२ को निर्णय अनुसार गण्डकी आयुर्वेद अस्पताल बनेको हो ।

पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भ्एको कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जनतालाई स्वास्थ्य सेवा सुलभ र सहज रुपमा उपलब्ध गराउन प्रदेश सरकार योजनावद्ध रुपमा क्रियाशील रहेको जनाए ।

कार्यक्रममा गण्डकी आयुर्वेद अस्पतालका कविराज निरीक्षक डा रामकृष्ण भुजेल, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसी, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्मा, क्षयरोग उपचार केन्द्र पोखराका निमित्त निर्देशक डा सुनील गौतम, समाजसेवी कृष्णबहादुर केसी र कुलदीप बरालले बोलेका थिए ।

आयुर्वेद अस्पताल प्रमुख डा शंकर गौतमले नेतृत्व गरेको चिकित्सकीय टोलीमा डा दीक्षा पौडेल, डा नरेन्द्र लामिछाने, डा किरणकमल बस्ताकोटी, डा अनिल थापा, डा शुभाष भुजेल, डा बिपिनबन्धु आचार्य थिए ।

शिविरमा हाडजोर्नी रोग, बाथ, युरिक एसिड, नशा रोग, पायल्स, फिसर, फिस्टुला, जनरल फिजिसियन सेवा, नाक, कान, घाँटीका रोग, स्त्री तथा प्रसूतिरोग, पेट तथा छाति रोग र पिसाबसम्बन्धी रोगहरुको जाँच तथा निशुल्क औषधी वितरण गरिएको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।