हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक

साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन ‘चरीको घर’ र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन ‘बेरीतका रीतहरु’ बजारमा आएका छन् ।

नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति ‘चरीको घर’मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले सुनाइन् । शिक्षणबाट सेवा निवृत्त कोइरालाले बालबालिकासँग बिताएको समयका अनुभूति पुस्तकका रहेको उल्लेख गरिन् ।

“मेरो जीवनको ऊर्जाशील समय बालबालिकासँग बित्यो । उनीहरुका मनोभावना, अनुभूति, मनोविज्ञान कवितामा उतार्ने कोशिष गरेकी छु,” उनले भनिन् । छ सयभन्दा बढी गीत बजारमा सकेकी लोकप्रिय गायिका कोइरालाको यो दोस्रो बालकृति हो ।

निबन्धकार पहारीको ‘बेरीतका रीतहरु’ हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा २० निबन्ध सङ्गृहित छन् । निबन्धकार पहारीले जीवन भोगाई र देखिएका विविध पक्षलाई निबन्धको रुप दिएको उल्लेख गरिन् । उनको यो पहिलो कृति हो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखरामा बालसाहित्य र निबन्धको क्षेत्रमा नयाँ नयाँ सर्जकहरु देखिनु सन्तोषको कुरा भएको उल्लेख गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले सर्जकहरुको सम्मान जीवनकालमै हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, स्रष्टा समाजका संरक्षक पवन आलोक, साहित्यकार डा नवराज लम्साल, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, स्रष्टा समाजका प्रकाश घायल, साहित्यकारहरु पद्यराज ढकाल, लक्ष्मण थापा, दीनबन्धु शर्मा र विधान आचार्यले पनि बोलेका थिए ।

सो अवसरमा साहित्यकार रीता न्यौपाने पहारीको अध्यक्षतामा सात सदस्यीय नेपाल स्रष्ट्रा समाज गण्डकी प्रदेश समितिसमेत घोषणा गरिएको छ । सदस्यमा हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद बास्तोला र सरस्वती श्रेष्ठ सरु छन् ।

कार्यक्रम स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा भएको थियो ।
मा समाजसेवा पुरस्कार

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।