पोखरा महानगरपालिका वडा नम्बर २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गण्डकी आयुर्वेद अस्पताल पोखरा २६ ले पोखरा महानगरपालिका वडा नम्बर २८ को समन्वयमा कालिकास्थानमा शिविर गर्न लागेको हो ।
अस्पतालका प्रमुख डा शंकर गौतमले अन्तरंग सेवा सुरुआतअघि पूर्वतयारीका रुपमा केही स्थानमा शिविरहरु गर्न लागिएको बताए । निशुल्क हुने शिविरमा पेटका समस्या र जोर्नीसम्बन्धी समस्याको आयुर्वेद चिकित्सकबाट जाँचसहित औषधीसमेत प्रदान गरिनेछ ।
‘अहिलेसम्म बहिरंग सेवा दिइरहेका छौँ । एक महिनाभित्रै अन्तरंग सेवा सुरु गर्ने तयारी छ,’ गौतमले भने, ‘अन्तरंग सुरु गर्नुअघि दुई, तीन वटा शिविर गर्ने तयारी छ ।’ शिविरका लागि छुट्टै बजेट नरहे पनि स्वयंसेवी रुपमा काम गरी शिविर गर्न लागिएको हो । उनले शिविरमा सहभागी भई लाभ लिन स्थानीयलाई आग्रह गरेका छन् ।

यो अस्पतालमा अन्तरंग सेवा सञ्चालनका लागि पूर्वाधार, जनशक्ति र उपकरणको समस्या छैन । यसपालि प्रदेश सरकारले १ कन्सल्टेन्ट, १ आयुर्वेद चिकित्सक, ४ स्टार्फ नर्स र २ अभ्याङ्कर्ता राख्न बजेट दिएको छ ।
आयुर्वेद चिकित्सा वैदिक कालदेखि चल्दै आएको चिकित्सा हो । २०२४ मा यो कार्यालय गण्डकी अञ्चल आयुर्वेद औषधालयका रुपमा वेगनासमा खुलेको थियो । २०५८ मा आयुर्वेद विभागबाट जिल्लामा रहेका साधारण औषधालयको आर्थिक कारोबार जिल्लास्तरीय कार्यालयबाट गर्ने निर्णय भए अनुसार यसलाई वेगनास आयुर्वेद औषधालय बनाइयो ।
संघीयतापछि प्रदेश अन्तर्गत गण्डकी प्रदेश सरकारको २०८१ मंसिर १२ को निर्णय अनुसार गण्डकी आयुर्वेद अस्पताल बनेको हो ।




