नेकपा कास्कीले सम्झियो माओ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले बिहीबार १ सय ३२ औं माओ दिवस मनाएको छ ।

सो अवसरमा नेकपा कास्कीले उत्पादन अभियानमा योगदान गर्ने नेता, कार्यकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सिले माओत्से तुङले जनवादी क्रान्ति सम्पन्न गर्न चीनमा चलाएको अभियानमाथि प्रकाश पारिन् । उनले नेपाली समाजका समस्याहरु पहिचान गर्दै एकीकृत जनक्रान्तिबाट मात्रै देशको समृद्धि सम्भव हुनेमा जोड दिइन् ।

नेकपा कास्की सेक्रेटरी उमेश सीले उत्पादनमा भूमिका खेल्ने नेता, कार्यकर्तालाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए । उनले माओको जीवन र चिनियाँ क्रान्तिबाट सिक्दै नेपाली क्रान्ति पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुशीला सी र स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा सी, नेताहरु कुमार सी र सोममाया सीले पनि बोलेका थिए । माओत्से तुङको जन्म २६ डिसेम्बर १८९३ मा र मृत्यु सेप्टेम्बर १९, १९७६ मा भएको थियो ।