प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा २३, कार्कीको तहरामा रहेको यो सहकारीमा करिब तीन करोड अपचलन भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई पोखरा–८, नयाँबजार बस्ने वर्ष ३३ का विक्रम पाण्डे(अभिमन्यु) र सोही सहकारीका सचिव पोखरा–३१, बेगनास घर भएका वर्ष ३४ का कमल सुवेदी आइतबार पक्राउ गरेको हो ।
उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धानअघि बढाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए । बचतकर्ताको रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकारी रजिष्ट्रार कार्यालयमा निवदेन दिएका थिए ।
पीडित बचतकर्तालाई उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार अपिल गरेको छ । सोमबार सूचना निकालेर प्रहरीले ठगिएका बचतकर्ताहरुलाई पुस २० गतेभित्र उजुरी दिन भनेको हो ।
सूचनामा भनिएको छ, “सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथासशेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्तामा सूचित गरिएको छ ।”





