जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस सुरु हुँदै छ । आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएको थियो ।
आइतबार कार्यालय समय अभियोगपत्र दर्ता गर्दै सकिएपछि सोमबारबाट बयान हुनेछ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा अभियोगपत्र दर्ता गर्दा आइतबार कार्यालय समय सकिएकाले सोमबारबाट बयान सुरु हुने बताउनुभयो ।
“मिसिल अध्ययन पनि हुँदै छ । आजबाट प्रतिवादीहरुको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ,” अधिकारीले भन्नुभयो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्ण गुरुङ र रामबहादुर खनाल अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँको मागदाबी लिइएको छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपैयाँ बिगो कायम गरिएको छ ।
कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि पुस १ गते सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।





