पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरेको छ ।
उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई९जीबी० सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता भएको कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले बताएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा दर्ता गराएको लामिछानेले जानकारी दिए ।
‘अभियोग मागदाबीबारे सरकारी वकिलबाट पत्र प्राप्त भएको छ । सूर्यदर्शन सहकारी संस्थामा भएको ठगीबारे पहिले अभियोग लगाएइका १९ जनाविरुद्ध १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँको माग दाबी थियो’, उनले भने, ‘फेरि आज सरकारी वकिलबाट थप बिगो कायम गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ सहितको पुरक अभियोग पत्र आइपुगेको छ।’
लामिछानेका अनुसार जीबीसहितका १९ जना प्रतिवादीलाई नै सहकारीको दफा थप र बिगो थप गरेर अभियोग पत्र आइपुगेको छ। उनका अनुसार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित पुरक अभियोग पत्र दर्ता भएको हो ।
पुरक अभियोग पत्रमा ४० करोड २० लाख रुपैयाँ थप भएसँगै अब यो मुद्दामा जम्मा बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको लामिछानेले बताएका छन् ।
उनका अनुसार यस प्रकरणमा १९ प्रतिवादीमध्ये १६ जनालाई सहकारीको दफा थप र बिगो थपसहित संगठित अपराधको दफा थप गरेर अभियोग आइपुगेको छ।
‘जीबी राईको हकमा मात्र सहकारीको दफा, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शु्द्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको पुरक अभियोग आएको छ’, उनले भने, ‘रवि लामिछानेसहित अन्य नयाँ प्रतिवादीहरूको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको छ।’




