रविको भाइरल तस्बिर छानबिन गर्न समिति 

सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने ।

सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्ड जाँदा खिचेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् ।