रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले सोमबार पदभार ग्रहण गरेकी छन् ।
रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले पदभार ग्रहण गरेकी हुन् । २७ वर्षअघि सहसमाचार वाचकका रुपमा रेडियो नेपाल प्रवेश गरेकी गुरुङ वरिष्ठ सम्पादक हुन् ।
समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोकगायन क्षेत्रमा समेत स्थापित छिन् । गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत बनेकी छन् ।
उनले रेडियामा भएको सीमित स्रोत, साधनका बाबजुद संस्थालाई अझ स्थापित, लोकप्रिय बनाउँदै जनतासम्म लैजान भूमिका निर्वाह गर्ने वाचा गरिन् । यस अघिका कार्यालय प्रमुखहरुले सुरुआत गरेका राम्रा कामलाई निरन्तरता दिँदै आवाजविहीनहरूको आवाज बनाउने गरी सबैलाई साथ लिएर काम गर्ने जनाइन् ।
रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरामा हाल २८ कर्मचारी छन् । यो कार्यालयमातहत मुस्ताङको जोमसोम, गुल्मीको रेसुङ्गा, पाल्पाको बगनास, पर्वतको दुर्लुङकोट र तनहुँको बन्दीपुरमा रिले केन्द्रहरु छन् ।