नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि थालनी गरेको छ ।
पोखरा २६ मूलपानीमा लगाइएको धान शनिबार भित्र्याइएको हो । नेकपा कास्की सेक्रेटरी उमेश सीले १५ मुरी धान उत्पादन भएको जानकारी दिए । यसपालि उत्पादित धान पार्टीका कार्यक्रमहरुमा प्रयोग गरिने उनको भनाइ छ ।
उमेश भन्छन्, यो धान पार्टीको काममा प्रयोग हुन्छ । पार्टी नीति अनुरुप थालिएको सामूहिक खेतीलाई अझ व्यापक बनाउने र उत्पादनमा जोड दिने योजना छ ।
‘अर्को वर्षबाट सबैजसो जनवर्गीय सङ्गठनलाई उत्पादनमा जोड्ने योजना छ ।’
एकीकृत जनक्रान्तिको अभिभारा पूरा गर्न पार्टी उत्पादनमा नलागी नहुने जनाउँदै उनले पार्टी सञ्चालनकै लागि चन्दा उठाउनुपर्ने अवस्था चाँडै पूर्ण रुपमा अन्त्य गर्ने गरी लाग्ने वाचा उनले गरे ।
पोखरा २६ मा पर्ने लेखनाथ, माझको मूलपानीमा भने पाँच रोपनीमा धान रोपिएको थिया । अर्को साल थप जग्गासमेत लिने र मौसम अनुसारका खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गर्ने योजना उनले सुनाए ।





