मितेरी सहकारी ठगीः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो एनसिबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो ।

यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।

ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरू विदेशमा भएको आशंकासहित इन्टरपोलमार्फत खोजी गर्ने प्रक्रिया अघि बढाइएको थियो । इन्टरपोलबाट नोटिस जारी भएपछि अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्ने छन् ।

गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नीसमेत हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीको ऋण तिरेको पाइएको छ ।

अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ ।