आउनू है दाजै दसैंमा घर, नजाने गरेर
पर्खेर बस्छु, हेरेर बाटो, बेंसीमा झरेर
छोडेर थलो, मुग्लानी भए, कोही गए शहर
मर्दा र पर्दा, गर्ने कोही छैन, रित्तै छ गाउँघर
रमाउँदै खेल्थ्यौं, दामली साथी, देउसिरे, भैलो
हिजोझैं लाग्छ, मिलेर सबै गरेको रमाइलो ।
हुँदैन भलो, बन्दैन गाउँ, बसाइ सरेर
पर्खेर बस्छु, हेरेर बाटो, बेंसीमा झरेर
हजुरकै आसमा, बसेकी छु म, जमरा उमारी
हरा र भरा, बनाम्ला दाजै यी बाँझा खेतबारी
बिर्सेर घर, छोराले माया मारेको धेरै भो
आमाले बाटो हेरेर आँसु झारेको धेरै भो ।
भाइटीका सम्झी बसेकी छु म मखमली छरेर
पर्खेर बस्छु, हेरेर बाटो, बेंसीमा झरेर ।