
गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नता र दोषी देखिए प्रमाणका आधारमा सबैमाथि कारवाही हुने दाबी गरेका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगीमा संलग्नताबारे सोधिएको प्रश्नमा लेखकले अनुसन्धान र कारवाही अनुहारका आधारमा नहुने प्रष्ट गरे ।
“सहकारी ठगी अनुसन्धानमा अनुहार हेरिएको छैन, प्रमाण हेरिएको छ । प्रमाण तथा जान्छ, अनुसन्धान त्यतै गएको छ,” उहाँले भन्नुभयो, “कतै राजनीतिक आग्रह÷पूर्वाग्रह राखिएको छैन । बचतकर्ताको रकम फिर्तालाई केन्द्रमा राखिएको छ ।” नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारी क्षेत्रलाई सुधार गर्न कामकाजी अनुगमन संयन्त्र निर्माण, ऐन, कानुनहरुमा सुधारसमेत गरिने जनाए ।
कसैलाई जोगाउने र कसैलाई फसाउन गरी अनुसन्धान नभएको जिकिर गर्दै उनले थपे, “अब धनराजजी(धनराज गुरुङ)माथि पनि अनुसन्धान हुन्छ । तथ्य, प्रमाणले उहाँ दोषी देखाए, उहाँमाथि पनि कारवाही हुन्छ ।”
हालै सार्वजनिक भएको जिबी राईको इमेलबारे पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । आउँदो अधिवेशनबाट प्रहरी र सशस्त्र प्रहरीका नयाँ ऐनहरु आउने उनले उल्लेख गरे ।