राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो ।
कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने जनाए । प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि म्याद मागेका थिए ।
संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ । कास्की अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि तीनै जनालाई ७ दिन म्याद थप गरेको छ ।




