रवि र छविलाई अदालत लगिँदै, पीडित र रास्वपा दुवैले प्रदर्शन गर्दै

आज पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रुपमा लगी ठगीमा संलग्न भएको आरोप छ ।

रविलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते राजधानीबाट प्रक्रा गरिएको थियो । उनीहरु दुुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शनमा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड रकम हिनामिना भएको छ । लामिछाने पक्राउ भएपछि पोखरामा रास्वपा र सहकारी पीडितले दैनिक जसो प्रदर्शन गरिरहेका छन् । सहकारी पीडितहरुले रास्वपा नेता, कार्यकर्ताले पीडितलाई घर घरै पुगेर धम्क्याएकोसमेत आरोप लगाएका छन् ।

बिहीबार दुवै पक्ष प्रदर्शनको तयारीमा छन् । रास्वपाले जिल्ला प्रशासन र कास्की अदालतको नजिकै रहेको वाईचोकमा प्रदर्शन गर्ने तयारी गरेको छ भने सूर्यदर्शन सहकारीका पीडितहरुले मुस्ताङचोकम प्रदर्शनको तयारी गरेका छन् ।