नेसपाको महाधिवेशन माघमा, सबै तहमा प्रत्यक्ष चुनाव

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता कृष्ण पौडेलले पार्टीको नाम र झण्डसमेत परिवर्तन भएको बताए । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति बनाइएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नेसपा २०७३ सालमा नयाँ शक्ति नाममा स्थापना भएको थियो ।

पछि उपेन्द्र यादवसहित मधेशवादी शक्तिहरुको एकीकरण र विभाजन हुँदै आएको नेसपाका धेरै नेता, कार्यकर्ता अहिले अरु पार्टीमा छन् । केही महिनाअघि नेसपा सांसद महेन्द्र राय यादवको नेतृत्वमा नेसपा विभाजन भएको थियो ।

‘विधान अधिवेशनले सर्वसम्मत रुपमा पार्टीको नाम र झण्डा परिवर्तनसहित महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ,” पार्टी प्रवक्ता पौडेलले भने । नेसपाले झन्डा र चुनाव चिन्ह दुवै आँखा छानेको छ । नेसपाको महाधिवेशनमा सबै तहमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदानबाट नेतृत्व चुन्ने भएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय हुने तय गरेको छ । ११ सदस्यीय पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष हुने छन् । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने व्यवस्था भएको छ ।

नेसपाका सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था गरिएको छ । मङ्गलबारै विधान अधिवेशनको आयव्यय पनि सार्वजनिक भएको छ । आय सात लाख ५० हजार र व्यय नौ लाख ७७ हजार भएको जनाइएको छ । अधिवेशनमा ७१ जिल्ला र विदेशका ६ देशबाट ५ सय प्रतिनिधि सहभागी थिए ।