रविलाई अदालत लगिँदै, रास्वपा र सहकारीपीडित दुवैले प्रदर्शन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

पक्राउ परेको तेस्रो दिन अदालत उपस्थित गराउन लाग्दा रास्वपा नेता, कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने अवस्था आइपरेको छ । देशका विभिन्न ठाउँबाट रास्वपाका नेता, कार्यकर्ता पोखरा आई शनिबार विरोध प्रदर्शन र र्याली निकाल्ने र सरकारी पीडितले समेत भेला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा दिउँसो साढे १२ बजे रास्वपाले विरोध प्रदर्शन गर्दै छ भने सूर्यदर्शन सहकारी पीडित सङ्घर्ष समितिले समेत आइतबार ११ बजे नै राष्ट्रबैंक चोकमा भेला गर्दै छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले प्रशासनले आवश्यक सुरक्षाको तयारी गरेको जानकारी दिए ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्न शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार बिदा भएकाले म्याद थपका लागि आइतबार अदालत लागिँदै छ । लामिछाने गोरखा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा अवैध रुपमा रकम गएको देखिएको छ ।