विरूवा सहकारीमा शिवरामको नेतृत्व

विरूवा बचत तथा ऋण सहकारी पोखरा–१७ को अध्यक्षमा शिवराम भण्डारी चुनिएका छन् । शनिबार भएको सहकारीको १३ औं साधारणसभाले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चुनेको हो ।

भण्डारी यसअघि उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा हरिशचन्द्र रेग्मी, सचिव सुमित्रा लम्साल र कोषाध्यक्षमा घनश्याम शर्मा छन् । सदस्यहरुमा द्रोणराज महत, पदमबन्धु पोखरेल, मञ्जु गुरुङ, पार्वती पोखरेल, शशिकमला लामिछाने, राधिका शर्मा र मित्रलाल तिवारी निर्वाचित भएका छन्।

लेखा समिति संयोजकमा कमलप्रसाद बराल र सदस्यद्वयमा भोजराज पाण्डे र ऋषिराम आचार्य छानिए । सभामा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले सहकारीका सदस्य बनेर चूपचाप बस्ने बानी फेर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘सेयर सदस्य बनेपछि बोनस पाउने बेलामा मात्र चासाे दिने गर्नुभएन, सधैं चनाखो हुनुपर्छ । सेयर सदस्यभित्र मात्र कारोवार गर्ने र सहकारीका मान्यता मान्ने सहकारीहरुका समस्या छैन ।’

विरूवा सहकारीमा ६ सय सेयर सदस्य छन् । नवनिर्वाचित अध्यक्ष भण्डारीले सेयर सदस्यमैत्री हुँदै उनीहरुलाई सहकारीका मान्यता बुझाउन लाग्ने वाचा गरे ।

उनले भने, ‘हामी सेयर सदस्यलाई सहकारीबारे बुझाउँदै अघि बढ्छौं । हामी नीति, विधिमा चलेकाले हाम्रो सहकारीमा अहिलेसम्म कुनै समस्या छैन ।’ उनले सेयर सदस्यहरुको आवश्यकता र सहकारीका सिद्धान्त अनुरुप नयाँ योजनाहरु बनाएर काम गर्ने उल्लेख गरे ।