राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले पौने ८ बजे पक्राउ पुर्जी बझेर कागजमा हस्ताक्षर गरेका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई गाडीबाट पोखरा ल्याइँदै छ ।
पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।
लामिछानेले गोर्खा मिडियामा १५ प्रतिशत ‘स्वेट सेयर’ लिएर प्रवेश गरेको र निस्कँदा त्यो सेयर कम्पनीलाई नै फिर्ता गरेको दाबी गरेका थिए। तर, यो रकम ‘स्वेट सेयर’ नभइ सहकारीको रकम भएको र उनी कम्पनीबाट बाहिरिने क्रममा पैसा लिन बुझाएका कागजातमा पनि किर्ते गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संगठित तवरले किर्तेसमेत गरी सहकारी ठगी गरेको र त्यस्तो रकमबाटै गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको कानुनअनुसार कारबाही हुने विषय प्रतिवेदनमा उल्लेख छ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारीको बचत अपचलनमा उनीहरूलाई दोषी किटान गर्दै गत भदौ ३१ मा प्रतिनिधि सभामा पेस गरेको थियो । पेस लगत्तै कार्यान्वयनका लागि संसद्ले प्रतिवेदन सरकारलाई पठाएको थियो ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसद्मा लगातार आवाज उठेपछि गत जेठ १५ मा संसदीय छानबिन विशेष समिति गठन भएको थियो।




