रवि पक्राउ पर्ने चर्चाले तरंग

पोखरा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाले देशभर तरंग आएको छ । त्यसैलाई लक्षित गर्दै शुक्रबार विपक्षी दलहरुको बैठकसमेत भएको छ ।

सरकारले लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने विपक्षी दलहरुले बताएका छन् । बिहीबार भएको टिआरसीबारेको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेका थिए ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिन प्रहरी अदालतमा पुगेको चर्चा छ । कास्की अदालतका ७ न्यायाधीशमध्ये न्यायाधीश कृष्णजंग शाह अदालतमात्र दिउँसो उपस्थित भएका छन् ।
६ जना न्यायाधीश बिदामा छन् । शाहकै इजालसमा यसअघि पक्राउ गरिएका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई म्याद थपका लागि उपस्थित गराइँदै छ । असोज ६ गते काठमाडौंमा पक्राउ गरी जोशीलाई अनुसन्धान गर्न पोखरा ल्याइएको थियो ।

यसअघि उनीविरुद्ध असोज ७ गते पाँच दिन र दोस्रो पटक असोज ११ गते सात दिन म्याद थप भएको थियो । गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक(डिआइजी) समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात नियन्त्रणमा लिएको थियो ।