बागलुङमा शकुन सम्मानित

साहित्यकार एवं गायिका शकुन ज्ञवालीलाई बुधबार बागलुङमा सम्मान गरिएको छ । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेशले ज्ञवाली नेपाली साहित्य र संगीत क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’, अग्रज साहित्यकारद्वय प्रेम छोटा र काजीरोशन र संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा मेयर श्रेष्ठले साहित्य, संगीतले चेतनाको विकास र सभ्यताको उन्नयनमा समेत भूमिका निर्वाह गर्ने जनाए ।

सम्मानित व्यक्तित्व ज्ञवालीका दर्जनभन्दा बढी सांगीतिक एल्बम सार्वजनिक भइसकेका छन् भने पाँच पुस्तक बजारमा आएका छन् । पछिल्लो दशकदेखि अमेरिकामा रहेकी उनको घर बागलुङको राटमाटा हो । आफ्नो घरले सम्मान गरेकोमा हर्षविभोर भएको जनाउँदै उनले नेपाली साहित्य र संगीतको उत्थान लागिरहने प्रण गरिन् ।

‘देशबाट पर बस्नुपर्ने हाम्रा बाध्यता छन् । त्यहाँ रहे पनि मुटुभरि देश छ । साहित्य, संगीत र जीवनमा नेपालकै गाउँघर, जीवन र आफूले भोगेको यात्रा समेटेकी छु,’ उनले भनिन् । प्रमुख जिल्ला अधिकारी प्रयासले साहित्यमार्फत् समाजका समस्या निरुपण गर्नसमेत सकिने उल्लेख गरे । ‘साहित्यले मान्छेको मनै हुन्छ, मान्छेलाई कुनै काम गर्न अभिप्रेरित गर्छ,’ उनले भने, ‘समाजमा अस्थायी र स्थायी गरी दुई प्रकृतिका समस्या छन् । ती समस्या पहिल्याउन र निरुपण गर्न पनि साहित्य, संगीत निकै उपयोगी छ ।’

साहित्यकारद्वय काजीरोशन र प्रेम छोटाले नेपाली वाङ्मयको विकासमा बागलुङको पृथक योगदान गरेको चर्चा गर्दै पछिल्लो पुस्तामा यसप्रति आकर्षण कम देखिएको भन्दै चिन्ता जनाए ।

सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेश अध्यक्ष अम्बिका भण्डारीले देश, विदेशमा रहेका नेपालीको प्रयत्नबाटै नेपाली साहित्य र संगीत अहिलेको अवस्थामा आइपुगको उल्लेख गरिन् ।
‘अहिले नेपाली विश्वभर नै पुगेका छन् । साहित्य, संगीत पनि सँगसँगै गएको छ । यसलाई भूगोलको सीमामा बाध्न सकिँदैन,’ भण्डारीले भनिन् ।

कार्यक्रममा साहित्यकार ज्ञवालीको पुस्तक ‘भन्दिनू है बा’को परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य, उपप्राध्यापक गणेश पौडेल, सप्तरंगी साहित्य समाज नेपाल बागलुङ संयोजक धनराज सापकोटा लगायतले बोलेका थिए । सो अवसरमा गोविन्द सुवेदी, कोपिला कँडेल, यामनाथ आचार्य लगायतले कवितावाचन गरेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।