२०७९ भदौ १४ गते मर्दी हिमाल छेउछाउका बस्तीमा सन्नटा छायो । त्यो दिन विश्वभर मर्दी हिमाल पदयात्रालाई चिनाउन योगदान गर्ने सुदीय गौतमको आकस्मिक निधन भएको थियो ।
सुदीपलाई भौतिक रुपमा गुमाएको दुई वर्षपछि उनको कर्मकै कारण थप परिचित बनेको मर्दी छेउमै उनको कर्ध कदको शालिक स्थापना गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदारसिंह डाँडामा युवा पर्यटन व्यवसायी गौतमको शालिक राखिएको हो ।

युवा पर्यटन व्यवसायी सुदीपको खानपानी पाइप मर्मत गर्न जाँदा भीरबाट लडेर निधन भएको थियो । गौतमकी श्रीमती कविता अर्याल गौतमले अर्ध कदको शालिक निर्माणका लागि आर्थिक व्यवस्थापन गरेकी छन् । उनले भनिन्, “गाउँपालिकाले स्थान उपलब्ध गरायो । सुदीप सरका साथीहरु, केही पर्यटन व्यवसायी, गाउँपालिका, टान लगायतले यसका लागि सहयोग गर्नुभएको छ । मर्दी हिमालका पिताको शालिक मर्दी छेउमै राखिएको छ ।”
कविताले शालिक निर्माण र अनावरणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन् । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र गौतमकी श्रीमती कविताले बुधबार शालिक अनावरण गरे ।
होटल ट्रेकर्स प्याराडाइज मर्दी हाइक्याम्प र ट्रेक इन्साइड नेपालका संचालक उनी नेपाल पर्वतारोहण सङ्घ गण्डकीका संस्थापक सचिवसमेत रहेका गौतम टान गण्डकीमा समेत आबद्ध थिए ।
प्रदेशसभा सदस्य बरालले पर्यटन व्यवसायी गौतमको योगदानले नै मर्दी पदयात्रालाई ब्रान्डिङ गर्न सहज भएको बताउनुभयो । “गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्न र यसको प्रवर्धनमा ठूलो भूमिका खेल्नुभएको थियो । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ,” उनले भने ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गौतमलाई गाउँपालिकाको पर्यटन विज्ञ नियुक्त गरी उनको सीप, क्षमताको कदर र उपयोग गर्न खोजेको भए पनि आकस्मिक निधनले सम्भव नभएको उल्लेख गरे ।
टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य सुदीपको मृत्युले पर्यटन क्षेत्रले एक दूरदर्शी र अग्रणी व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनका पदचाप पछ्याउनु नै उनीप्रति सही श्रद्धाञ्जली हुने बताए । सुदीपका बुवा रेशमलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी कुलप्रसाद अधिकारीले पनि बोलेका थिए ।




