पोखरा आइपुग्यो ‘खबरमा छु प्रिय’

साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह खबरमा छु प्रियमाथि सोमबार पोखरामा परिचर्चा गरिएको छ । परिचर्चाकार असफल गौतमले १ सय ८२ वटा मुक्तक रहेको पुस्तकका मुक्तकहरुले सामाजिक विकृतिको चिरफार, देशको माया र प्रवासमा पनि देश मुटुमा बोक्नेहरुका संवेदना बोेकेको जनाए ।

गौतमले भने, ‘शकुनका मुक्तकहरु पाठकमा कौतुहलता जगाउने खालका छन् । र समष्टिमा उनको लेखनमा देश छ, देशको माया छ, परदेशबाट सम्झिएको देशका झझल्काहरु पनि छन् ।’

खबरमा छु प्रिय ! सकुन चौंथो कृति हो । उनका लोकदोहोरी, तीज गीत गरेर दर्जन एल्बम प्रकाशित भइसकेका छन् । यसअघि पालुवा मञ्जरी कविता संग्रह, तिमी र म कविता संग्रह र भन्दिनु है बा कविता संग्रह प्रकाशित भएका थिए । ज्ञवालीका गजल संग्रह, कथा संग्रह र उपन्यास प्रकाशोन्मुख छन् ।

प्राज्ञ सरुभक्तले मुक्तकको राजधानी पोखराबाट साहित्यको क्षेत्रमा उदाएकी शकुन बहुप्रतिभाशाली रहेको उल्लेख गरे । शकुनको गायन, लेखन, सामाजिक परिवेश, घरदेशको अवस्था, विसंगति विरुद्ध लगायतका हर क्षेत्रमा कलम चलेको छ । मन घरदेशमा राखेर प्रदेशमा बसेर साहित्यको सिर्जना गर्नु आफैंमा महान कार्य र संघर्षमाथिको जित भएको उनले बताए ।

प्राज्ञ हरिदेवी कोइरालाले सकुनका परदेशमा जानु पहिलेका संघर्षका कथा सुनाउँदै निरन्तर लगावका कारण उनी नेपाली साहित्यका लागि सगुन बनेको उल्लेख गरिन् । कोइरालाले सँगसँगै गीत गाएका गीतहरु पनि सम्झना गरिन् ।

साहित्यकार ज्ञवालीले वाध्यताले परदेशिए पनि बँचेको समय साहित्य, संगीतमा लगाउँदा असीम आनन्द प्राप्त हुने सुनाइन् । उनले देश वा परदेश जहाँ रहे पनि भावना, संवेदना र देश सँगसँगै रहेको र सिर्जना पनि सँगै हुने उल्लेख गरिन् ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले नेपाली साहित्यको उन्नयनका लागि विदेशमा बसेर गरेको योगदान अतुलनीय रहेको बताए । कार्यक्रममा शकुनलाई त्रिवेणी संगीतालय, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, लेखानाथ साहित्य प्रतिष्ठान र मुक्तक मञ्चले सम्मान गरेका थिए ।

सो अवसरमा कलाकार यादवचन्द्र भुर्तेलले आफूले बनाएको साहित्यकार शकुनको मुहारचित्र हस्तान्तरण गरे । सप्तरंगी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा साहित्यकार सकुनले कला, साहित्य र संगीतको श्रीवृद्धिका लागि सप्तरंगी सांस्कृतिक प्रतिष्ठानलाई १ लाख ५१ हजार रुपैयाँ अक्षय कोषका लागि प्रदान गर्ने घोषणा गरिन् ।