प्रशासनलाई नै ठग्यो मारवाडीले, २ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ४ चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइ पोखरामा भएको लागुऔषधसम्बन्धी अन्तरक्रियाको खाजा अर्डर गरिएभन्दा कम मात्रामा पाइएपछि प्रशासनले कारवाही गरेको हो ।

प्रशासनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ (ख) बमोजिमको कसूरमा मारवाडी भोजनालयलाई जरिवाना गरेको हो । यो कसूर गरे वा गराएमा दुई लाखदेखि तीन लाख जरिवाना गर्न सक्ने प्रावधान छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले अग्रीम पेस्की दिएर अर्डर गरेको खाजा परिणामभन्दा कम पठाएपछि कारवाही गरिएको बताए । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल वा बनावट आदि ढाँटी वा लुकाइ, छिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्न नपाइने उपभोक्ता ऐनमा उल्लेख छ ।