भलाममा सेभेन ए साइड फुटबलको तयारी

श्रृङ्खला क्लब पोखरा–२०, भलाम–मौजाको आयोजनामा यही कात्तिक ५ गतेबाट नवौं सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख ३१ हजार १ सय ११ र दोस्रो हुनेले ६५ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

२०८१ को दसैं तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगिता भलामको पाटनमा हुनेछ । क्लब अध्यक्ष दिनेश बस्नेत स्थानीय स्तरबाट राष्ट्रिय खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउँछन् । “हाम्रो भलाम, राम्रो भलाम भन्ने उद्देश्यका साथ यस क्षेत्रको सामाजिक विकास र पर्यटन प्रवर्धनका लागि समेत सघाउन प्रतियोगिताले सघाउने अपेक्षा गरेका छौं,’ बस्नेतले भने ।

कात्तिक १ गतेदेखि ४ गतेभित्र प्रतियोगितामा सहभागी हुने क्लबले टिम दर्ता गराउनुपर्ने छ । प्रतियोगिताका लागि १३ लाख ५१ हजार २ सय ५२ रुपैयाँ आम्दानी र १० लाख ५६ हजार २ सय ८२ रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगितामा कम्तीमा ३० टिम सहभागी हुने अपेक्षा गरिएको छ ।

विसं. २०४३ सालमा श्रृङ्खला युवा क्लब २०७२ सालमा श्रृङ्खला क्लबमा रुपान्तर भएको हो । क्लबले फुटबल प्रतियोगितासहित विभिन्न सामाजिक काम गर्दै आएको छ ।