पोखरा ८ को गिरी डहरमा चल्यो डोजर

पोखरा ८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रक संरचना हटाएको हो ।

गिरी डहरमा २०३२ सालको नापी नक्सामा समेत छुट्टिएको बाटो व्यक्तिले अतिक्रमण गरी आवतजावत अवरोध गर्नुका साथै घरको कम्पाउन्ड निर्माण गरेका थिए । जसका कारण बाटो अतिक्रमणमा परेको थियो भने बाटोको भागमा पर्खाल निर्माण गरिएको थियो ।

नक्सामा बाटो रहेको, सहज निकास र दमकल तथा एम्बुलेन्स समेत छिर्न नसक्ने अवस्था रहेपछि नियमानुसार बाटो मिचेर निर्माण गरिएको संरचना हटाउन निर्देशन गरिएको नगर प्रमुख धनराज आचार्यले बताए । सम्बन्धित पक्षलाई पोखरा महानगरपालिकाले पटक पटक अतिक्रमित संरचना आफै हटाउन आग्रह गरेकामा अटेर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा महानगरीय प्रहरी बलले सो संरचना आफैंले हटाइदिएको हो ।

नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार बाटोको विषयमा पटक पटक छलफल गरिएको र संरचना हटाउन आग्रह गरिएकामा अटेर भएपछि बाध्य भएर नगरपालिकाले हटाउनु परेको हो ।

गिरी डहर बाटो निर्माण उपभोक्ता समितिले समेत बाटो अतिक्रमण गरी संरचना निर्माण भएका कारण बाटो निर्माण गर्न नसकिएको बताउँदै आएको थियो । गिरी डहरको करिब २ सय मिटर बाटोको अतिक्रमण हटेपछि अब बाटो बनाउन सहज हुने समितिले जनाएको छ ।