गण्डकी टेक्निकल इन्स्टिच्युटमा यही वर्षबाट ब्युटी एन्ड कस्मेटोलोजी पढाइने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी )ले नेपालमा नै पहिलो पटक सञ्चालन गर्न लागेको ३ बर्षे डिप्लोमा तहको कार्यक्रम व्युटि एण्ड कस्मेटोलोजी पोखराको गण्डकी टेक्निकल ईन्स्टिच्युट जीटीआईमा यहि वर्षबाट सुरु हुने भएको छ ।

जिटिआईले शनिवार पोखरामा सिटिईभीटिका अध्यक्ष, पोखराका वरिष्ठ सौन्दर्यविद, सौन्दर्यकर्मी तथा सञ्चारकर्मीहरुसँग व्युटि एण्ड कस्मेटोलोजी कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराएको हो ।

जीटीआई पोखराको आयोजना तथा गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रा लि तथा सिटिइभिटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सिटिभिटीका निर्देशक टैलेन्द्र आचार्यले पहिलोपटक सुरु गरिएको यो कार्यक्रम काठमांडौमा गणेशमान बहुप्राविधिक शिक्षालय र पोखरामा गण्डकी टेक्निकल ईन्स्टिच्युटलाई जिम्मेवारी दिईएको बताए ।

उनले सन् २०१७ मा नै व्युटि एण्ड कस्मेटोलोजीको पाठ्यक्रम निर्माण गरिएको जानकारी दिदै आवश्यक परेमा पाठ्यक्रम परिमार्जन गरिने जानकारी दिए । गुरुङ व्युटि पार्लर एकेडेमी प्रालिका संस्थापक सञ्चालक चिनु गुरुङले व्युटिपार्लर व्यवसायमा मेसिन तथा केमिकलको प्रयोगबाट सौन्दर्यकर्मी र ग्राहकहरुमा हुनसक्ने स्वास्थ्यसम्बन्धि जोखिमहरु कम गर्नका लागि व्युटि एण्ड कस्मेटोलोजीले सहयोग गर्ने बताईन् । ३ वर्षको डिप्लोमा कोर्सले सौन्दर्य व्यवसायीहरुमा समयानुसार परिमार्जन भएर आएका प्रविधिको प्रयोग गर्न सहज बनाउने विश्वास व्यक्त गरिन् ।

अग्रज सौन्दर्यकर्मी पबित्रा घिमिरेले व्युटि एण्ड कस्मेटोलोजी अध्ययन गर्नुका फाईदाहरु र यसका महत्वहरुकारे प्रस्तुतीकरण राखेकी थिईन् । कार्यक्रममा सहभागीहरुले विभिन्न प्रश्न समेत राखेका थिए ।

पोखरा महानगर व्यवसाय प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले गण्डकी प्रदेशमा १४ सयभन्दा बढि व्यक्तिहरु प्रत्यक्ष रुपमा व्युटिसिएन पेसामा आद्ध रहेको तर निकै कम मात्र यस पेसामा विशेषज्ञको रुपमा रहेको जनाए । हाल नेपालीहरु व्युटि एण्ड कस्मेटोलोजीू विषय अध्ययन गर्नका लागि महँगो शुल्क तिरेर भारत, थाइल्यान्ड, अस्टे्रलिया, संयुक्त अरब इमिरेट्स युएइ, अमेरीका, बेलायत लगायतका देशहरुमा जाने गरेका छन् ।

नेपालमा यस विषयको पढाई हुने भएपछि यो बाध्यता हट्ने अपेक्षा गरिएको छ । कार्यक्रममा जिटिआई पोखराका अध्यक्ष ध्रुव शर्माले सौन्दर्य पेसालाइ मर्यादित र व्यवसायिक बनाउन प्राविधिक शिक्षाका रुपमा यो कार्यक्रम अघि बढाईएको जानकारी दिए । उनका अनुसार ६ सेमेष्टरमा पढाई हुने यस कार्यक्रमका लागि चार लाख ९५ हजार शुल्क तोकिएको छ ।

विद्यार्थीहरुले सेमेस्टर अनुसार शुल्क तिर्न सक्नेछन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका महासचिव गोविन्द सुवेदीले कतिपय सिटिईभिटिका कार्यक्रम भव्यताका साथ सुरु हुने तर विचमा अलपत्र पर्ने गरेको स्मरण गराउँदै त्यस्तो अवस्था व्युटि एण्ड कस्मेटोलोजीको हुन नदिन आग्रह गरे ।

कार्यक्रममा जिटिआई पोखराका प्रमुख प्रसासकिय अधिकृत कुलदिप पौडेल र सञ्चारकर्मी अनिशा श्रेष्ठले पनि बोलेका थिए ।