नेपाल तामाङ घेदुङ कास्कीले पोखरा १४ चाउथेमा बहुउद्देश्यीय भवन बनाउने भएको छ । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा तामाङ र घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् ।
कार्यक्रममा गुरुङले बहुउद्देश्यीय भवनको जग हालिए पनि विनियोजित बजेट भवन सम्पन्न गर्नका लागि पर्यप्त नहुँदा विभिन्न निकायमा पहल गर्न आग्रह गरे । आदिवासी समुदायले हिजोदेखि आज सम्म पनि देश बिदेशमा हुने आफन्तसँग आर्थिक सहयोग उठाएरै भवन ठड्याउने, ठुलाठुला कार्यक्रमहरु सम्पन्न गर्ने गरेको उल्लेख गर्दै उनले प्रशासनिक प्रकृया पुर्याएर सरकारी बजेट प्राप्त गर्न पछि पर्ने गरेको औंल्याए ।
उनले भने अझै हामी पछाडी नै छौँ। राज्यले अनुत्पादित क्षेत्रमा लगानी नगर्ने भन्छ तर यो देशको नागरिक वा कुनै समुदायको विकासमा टेवा पुर्याउनु भनेको चौतर्फी हिसाबले सिङ्गो देश समृद्ध हुनु हो ।
भक्त डुम्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा, तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङ, तामाङ घेदुङ प्रदेश उपाध्यक्ष शिबु ब्लोन, घेदुङ महानगर सचिव अन्जना तामाङ, पोखरा महानगरपालिका वडा नं १३का जनप्रतिनिधि सुचिता तामाङ, बैदाम तामाङ इकाई समितिका अध्यक्ष ज्याक तामाङरितु तामाङ, मीनमाया तामाङले बोलेका थिए ।
शिलान्यास कार्यक्रममा धर्मगुरु धिरज लामाले साङशेर्ग्याम गरेका थिए ।




