मेयर देवकुमारः २ पटक चुनिए, २ अर्ब ठगे, पक्राउपछि बागलुङ लगियो

बागलुङ र कास्कीको पोखरा महानगरमा एउटै नामबाट दुई सहकारी खोली करिब दुई अर्ब हिनामिनामा मुद्दा चलेपछि फरार बनेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार बागलुङ लगिएको छ ।

सोही अभियोगमा उहाँसँगै पक्राउ परेका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई पनि सँगै बागलुङ लगिएको छ । उनीहरु दुवै बुर्तीबाङका बासिन्दा हुन् । डेढ वर्षदेखि फरार नेपालीलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको थियो ।

आइतबार नेपालीलाई विमानमार्फत् साँझ पोखरा ल्याइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीले उनलाई बागलुङ लगेको छ ।

पोखराको सूर्यदर्शन सहकारीका एकताका उपाध्यक्ष रहेका नेपालीले त्यहाँ नेतृत्व नपाएपछि आफ्नै अध्यक्षतामा पोखरा र र बागुलङमा इमेज सहकारी खोलेका थिए । सहकारीबाट पोखरामा १५ करोडमात्र लगानी गरेको देखिएको र ५० करोडभन्दा बढी रकम सिस्टमै नदेखाई चलाउने गरेको महानगरको सहकारी महाशाखाको छानबिनमा उल्लेख छ ।

२०५८ मा पोखरामा सहकारी खोलेपछि उनी आफैं अध्यक्ष बनेर २०६९ मा बागलुङमा अर्काे सहकारी स्थापना गरेका थिए । सहकारीसम्बन्धी संसदीय छानबिन समितिले दुवैतिर आफैं अध्यक्ष भएर काम गर्दा सञ्चालक समितिमा डमी पात्र राखेर काम गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको संस्थाको गलकोट र बुर्तिवाङमा सेवा केन्द्र थिए ।

सहकारीको पैसा आफ्नो निजी व्यवसाय र घरजग्गमा लगानी गरेको प्रतिवेदनले औंल्याएको छ । मुद्दा परेपछि फरार नेपालीले सामाजिक सञ्जालमा आई आफ्ना ४५ कित्ता जग्गा र १८ घर रहेको भन्दै सबैको ऋण तिर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

उनका बुर्तिवाङमा तीन होटल छन् । आठ तले हेलिप्याड सहितको होटल दरबारसमेत उनले चलाएका थिए । बागलुङमा उनीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा दर्ता भएको मुद्दा विचाराधिन छ । बागलुङको सहकारीबाट डेढ अर्ब हाराहारी अपचलन भएको देखिएको छ ।

देवकुमार २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई ढोरपाटनको मेयर बनेका थिए । अघिल्लो कार्यकाल पनि उनी त्यहीको मेयर थिए । २०७४ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट मेयरमा चर्चामा भए पनि अन्तिममा टिकट नपाएपछि उनी मनोनयनका दिन एमाले प्रवेश गरी एमालेकै उम्मेदवार बनेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।