रिडर्स कर्नरमा दसैं किताब मेला

किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दसैं किताब मेला सुरू भएको छ । पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो ।

यसअघि पनि रिडर्स कर्नरले पाठकलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ । ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अंग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन् ।

१ हजार ९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १० प्रतिशत, २ हजार देखि ३ हजार ४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत, ३५ सयदेखि ४ हजार ९ सय ९९ रूपैयाँसम्म किताब खरिद गर्दा २० प्रतिशत र ५ हजार रूपैयाँभन्दा माथिका किताब किन्दा २५ प्रतिशतसम्म छुट पाइने रिडर्स कर्नरका सञ्चालक भावना थपलियाले जानकारी दिइन् ।

‘रिडर्सले यसअघिका वर्षमा पनि दसैंको मौका पारेर किताब खरिदमा छुटको व्यवस्था गर्दै आएको थियो । सधैँ जस्तो यसपालि पनि किताब खरिद गर्दा छुटको व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘पाठकले आएर जुन विधाको किताब मन पर्छ, छानीछानी किताब किनेर, उति नै छुट पनि पाउन सक्नुहुनेछ ।’ असोज १ देखि सुरू भएको किताब मेला असोज २४ गतेसम्म चल्नेछ ।