टेवानद्धारा लेकसाइड र आसपासका चौतारीहरु सरसफाइ

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विश्व पर्यटन दिवसको सन्दर्भमा बिहीबार पोखरा महानगरको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र आपपासका चौतारीहरुमा सरसफाइ गरेको छ ।

४५ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा टेवानका सदस्य र पदाधिकारीले चौतरीका फोहोर हटाएर सफा बनाएका हुन् । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, प्राध्यापक दीपेन्द्र पहारी पनि कार्यक्रममा सरिक थिए ।

विश्व पर्यटन दिवश शुक्रबार विविध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । यसपालिको पर्यटनको नारा पर्यटन र शान्ति तय भएको छ । नेपाल सरकारले यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरिसकेको छ ।

टेवान अध्यक्ष कमला गिरीले नेपालको विकास र समृद्धिको मुख्य आधार पर्यटन भएको औंल्याउँदै संस्थाले सामाजिक उत्तरदायित्व बोध गर्दै चौतारी सरसफाइ गरेको बताइन् । पर्यटनको राजधानीले पर्यटन दिवसमा पाहुनालाई पृथक तवरले भव्य स्वागत गर्नुपर्नेमा उनको जोड छ ।

उनले भनिन्, ‘पोखरा महानगरको वडा नम्बर ७ को सहकार्यमा कार्यक्रम गरेका हौँ । यसबाट एकातिर हामीले पर्यटन दिवसको महत्व दर्साउन खोजेका हौं भने अर्कातिर नागरिकलाई हाम्रो ठाउँ हामीले नै सफा गर्नुपर्छ भन्ने सन्देशसमेत दिन चाहेका छौं ।’