राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिबस चलाउन रोकेको छ ।
विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो।
बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो।
प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ।
त्यस्तै, खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहन प्राधिकरणले जनाएको छ।
असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन्। गण्डकीको मनाङ मध्यम जोखिममा छ।
त्यस्तै, लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन्। १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ । ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ । यस्तै मधेश प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन् ।
यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् ।
यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदुरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ ।




