“निलाञ्जला” लिएर आइन् निलाञ्जला भारद्वाज

समकालीन मुक्तककी सशक्त प्रतिभा निलाञ्जला भारद्वाजको पहिलो मुक्तक कृति शनिबार सार्वजनिक भएको छ ।

मुक्तकालय नेपालले काठमाडौंमा आयोजना गरेको भव्य समारोहमा कृति अग्रज गीतकार यादव खरेल, गजलकार ज्ञानुवाकर पौडेल, सञ्चारकर्मी अच्युत घिमिरे, मुक्तक मञ्च काठमाडौं अध्यक्ष राजेन्द्र घिमिरे, घुम्तिमा मुक्तकका अध्यक्ष निर्मलरमण पराजुली, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई लगायतले सार्वजनिक गरेका हुन् ।

नेपाली मुक्तको विकासमा प्रतिवद्ध मुक्तकालय नेपालकी अध्यक्षसमेत रहेकी मुक्तककार भारद्वाज पछिल्लो एक दशकदेखि साहित्य लेखनमा छिन् ।

संग्रहमा विविध विषयका ४ सय २ मुक्तक छन् । निलन्जलाका छोरा बादल ढकाल यसका प्रकाशक हुन् । मुक्तक सङ्ग्रहको मूल्य ३ सय रुपैयाँ छ ।

कार्यक्रममा कृतिमाथि समालोचक ज्ञानु अधिकारीले टिप्पणी गरिन् । बाग्लुङका शिक्षक डिल्लीराज अर्यालले मुक्तककार भारद्वारको बाल्यकाल र विद्यालय जीवनबारे प्रकाश पारे ।

मुक्तकालय नेपालका संरक्षक सुनील अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भारद्वाजकी सासू अमृता ढकाल र ससुरा कृष्ण ढकाल, गजलकार ज्ञानुवाकर पौडेल, सञ्चारकर्मी अच्युत घिमिरे, मुक्तक मञ्च काठमाडौं अध्यक्ष राजेन्द्र घिमिरे, घुम्तिमा मुक्तकका अध्यक्ष निर्मलरमण पराजुली, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, मुक्तककारहरु राजन सिलवाल र रमेश पौडेल, मुक्तकालय नेपालका सचिव देवी बाँस्कोटा, गजलकार विपिन मर्म, मुक्तककार भारद्वाजकी छोरी वर्षा ढकाल लगायतले बोलेका थिए ।

कार्यक्रममा मुक्तककारहरू कल्पना काफ्ले, लक्ष्मी ढकाल, अजिता क्रान्ति दाहाल, आस्था निरौला, उदास कार्की, मीना चौलागाईं, चेतनपथ माधव, हिमा घर्ती र अञ्जिता रावतले विमोचित कृतिबाट रोज्जा मुक्तकहरु वाचन गरेका थिए ।