सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो।
विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको भन्दै जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार पोखरा ल्याइएको थियो।
उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।
संसदीय छानबिन विशेष समितिले गरेको सिफारिस कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।
छविसँगै व्यवसायिक साझेदारी गरेका रास्वपा सभापति रवि लामिछानेसमेत अहिले प्रहरी निगरानीमा छन् । अनुसन्धानका क्रममा आवश्यक परेका बखत पक्राउ गर्न सक्ने गरी प्रहरीले तयारी गरेको बुझिएको छ ।
छवि पक्राउ परेपछि गोरखा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछाने झस्किएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको छैन । प्रहरी स्रोत भन्छ, अनुसन्धानअघि बढिसकेको छ । सबैलाई लागू हुने ऐन एउटै हो । आवश्यकताअनुसार कदम चाल्छौं ।




