बढ्यो सहकारी अनुसन्धान, यस कारण पक्राउ पर्न सक्छन् रवि

सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएपछि पूर्व डिआइजीसमेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परे । यी छविलाल तिनै हुन्, जसको घरमा छापा मारेर प्रहरीले सूर्यदर्शन सहकारीको सर्भरसहित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

आइतबार राति विमानबाट जोशीलाई पोखरा ल्याएको कास्की प्रहरीले सोमबार उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । जोशीपछि राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) का सभापति रवि लामिछानेले पक्राउ पर्ने हल्ला चलेको थियो ।

कास्की प्रहरीले पूरक प्रतिवेदन अनुसार अनुसन्धानअघि बढाउन जिल्ला अदालत कास्कीमा प्रक्रियाअघि बढाए पनि थप कसैलाई पक्राउ गर्न पुर्जी नलिएको स्पष्टिकरण दिएको छ । तर रवि पक्राउ पर्न सक्ने स्रोत बताउँछ ।

गोरखा मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका रविले करोडौं रुपैयाँको चेक आफैले काटेका थिए । पछि पार्टी गठन गरी गृहमन्त्रीसमेत बनेका लामिछानेलाई कारवाही गर्न संसदीय समितिले सिफारिस गरेको छ ।

आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने लामिछानेले चेतावनी दिएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।

‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने ।

सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । ‘कानूनी रुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सत्यका लागि लड्न तयार भएर बसेको छु’, लामिछानेले भने ।