कास्कीका प्रहरी प्रमुख मोहन थापा सम्मानित

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान गरिएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई थापालाई सम्मान गरे ।

गत वर्ष भदौमा कास्की आएका थापाले कार्यकालमा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । आधा दर्जन सहकारीमा अनुसन्धान कास्की प्रहरीले मुद्दा दायर गरेको छ । चर्चित सूर्यदर्शन सहकारी काण्डका अभियुक्तहरुलाई कारवाही गर्ने क्रममा प्रहरी छ । सरुवा हुने समय आइसके पनि भिआइपीसहित राजनीतिक व्यक्तित्वहरु ठगी काण्डमा परेको र अनुसन्धान भइरहेकाले कास्कीमा आउन धेरैजसो एसपीहरुले चासो नदिएको स्रोत बताउँछ ।

कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर, लेखनाथ र हेमजमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरिएको थियो । सामुदायिक सेवा केन्द्र वगरबाट रामप्रसाद अधिकारी, लेखनाथबाट गंगा कुमारी खनाल हेमजाबाट देविप्रसाद अधिकारी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी वल कालिका गणमा आएका सशस्त्र प्रहरी नायब उपरीक्षक राजनमान श्रेष्ठ, वडा प्रहरी कार्यालय वगरमा आएका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आएकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई स्वागत गरिएको छ ।

कार्यक्रमा जिल्ला प्रशाशन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालले समुदायमा सचेतना फैलाउन सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगा कुमारी खनालले सामुदायिकको मर्म अनुसारनै काम गर्दै आएको जनाइन् ।

सामुदायिक प्रहरी सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयव कास्कीका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।