नेपाली सुगम सङ्गीतका अब्बल गीतकार आनन्द अधिकारी नेपाली सेनाका अवकाश प्राप्त उपरथि हुन्न भन्ने थोरैलाई मात्र थाहा छ । कडा सैनिक ऐन पालना गर्दै गराउँदै साढे तीन दशक बिताएका अधिकारी मर्मिक र हृदयस्पर्धी गीत लेख्छन्, कविता पनि उस्तै अब्बल छन् ।
चर्चित गीतकारको सूचीमा छुट्दैन आनन्दको नाम । साढे चार सय हाराहारी गीत सिर्जना गरेका अधिकारीको कविता सञ्चयन ‘केवल धूलो’ चाँडै बजारमा आउँदै छन् । उनै अधिकारी शनिबार पोखरेलीमाझ आफ्ना अब्बल कविता, गीतसँगै अनुभव सुनाउन उभिए ।
पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको समता काव्य सन्ध्यामा सन्ध्या नायक बनेका अधिकारीले आधा दर्जन कविता र केही गीत सुनाएर पोखरेलीलाई मन्त्रमुग्ध बनाए । तिमीले दिने माया अजग्बरी छ भने, तिमी बिनाको जीवन, ओराली लागेको हरिणकै चाल भो, बाँचुन्जेलीलाई, हिरा काट्ने हिरैमा राखेर जस्ता कालजयी गीतका सर्जक अधिकारी अहिले वेदान्त दर्शनको अध्ययन, अध्यापनमा व्यस्त छन् ।
शनिबार उनले सुनाएका कविता र गीतमा पनि त्यही दर्शन देखियो । नेपालीले अनेक थरी कर तिर्नुपरेको तर त्यसको सदुपयोग नदेखिएको ‘तिरै तिरो जिन्दगी’बाट वाचन थालेका उनले गौरवपूर्ण विगतलाई बिर्सिएर भविष्य सुन्दर बन्न नसक्ने भावको ‘हिजो बिर्सिएको आज’ कविता सुनाए ।
दुःखबाट प्रेरणा लिनुपर्ने विषय बोकेको ‘प्रिय दुःख’ कवितापछि उनले ‘नीलो परेवा’ सुनाउँदा स्रोत भावुक बने । शान्ति स्थापना गर्न उडेको शान्ति सेनाका जवानको कथा बोकेको यो कवितापछि उहाँले भाडाका सेनाको रुपमा काम गर्ने नेपालीबिचकै युद्धको कथा बोकेको ‘रातो बरफ, रातै धर्ती’ सुनाउँदा हलमा सन्नाटा छायो ।
वेदान्त दर्शनले ओतप्रोत ‘राष्ट्र देवो भव’ गीत सुनाएर उनले कार्यक्रमको बिट पारेका थिए । आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेल समताले काव्य वाचनसहित बेला बेलामा सर्जकहरुलाई काव्य नायकका रुपमा निम्त्याएर पृथक खालका कार्यक्रम गर्ने गरेको बताउँछन् ।
आनन्दलाई सुन्न पुगेका साहित्यकार सरुभक्तको अधिकारीलाई भौतिक रुपमा पहिलो पटक भेटेको उल्लेख गरे । निरन्तरको साधना, अध्ययन र लगावले नै उनी उच्च स्तरको गीतकार बनेको सरुभक्तले उल्लेख गरे ।