बेलिसरा कहाँ छे?
के गर्दै छे ?
कसैलाई थाहा छैन।
बेलिसराहरुको काम छैन सहरमा
डोको भित्र तरकारीमा लुकाएर बम बोक्नु पर्दैन
पर्दैन गोप्य चिठीहरु बोकेर सुरक्षित ठाउँ सम्म पुर्याउन
त्यसैले
बेलिसराहरु भुमिगत छन्
कमरेडहरु खुल्ला छन्
आजकल सहरमा बेलिसराहरुको खोजी हुँदैन।
कुनै बेला
देख्नेहरुले
तरकारी बोकेको देखे पनि
ज्यान हत्केलामा राखेर
डोको भरी वम बोक्थे बेलिसराहरु
हो म त्यही बेलिसराहरुको खोजीमा छु
जो ढाडमा नानी बोकेर
काधमा बन्दुक बोक्थे
मनमा चेतनाको बिज बोकेर
बस्तीमा किरण छर्थे
हातमा मादल बोकेर
उज्यालोका गीत गाउथे
गाउँ सहरलाई बिउँझाउदै
बस्ती बस्तीहरुमा
विद्रोहको परेड खेल्थे।
अचेल कहाँ छन् बेलीसराहरु ?
जब भत्किदै भत्किदै गए लाल किल्लाहरु
बेचिदै बेचिदै गए लाल सेनाहरु
सुनसान बगरमा रुपान्तरण भए आधार इलाकाहरु
गिरीजाबाबुको सुस्केरामा लय मिलाउदै सिंहदरबार छिरे
कमरेडहरु
जब कमरेडहरु कमरेड रहेनन्
लाल दलालमा रुपान्तरण भए
महल क्रान्तिको सुरुवात भयो
कमिसन क्रान्तिमा चुर्लुम्ब डुबे कमरेडहरु
सुनैसुनले पहेलै भए कमरेडहरु
छिर्केमिर्के भए कमरेडहरु
तारे मारे भए कमरेडहरु
त्यस पछि भुमिगत भए बेलिसराहरु
अचेल बेलिसराहरु
नयाँ क्रान्ति गर्दै छन्
खवरदार
सहिदको रगत वाग्मतीको पानी होइन
आधा आकाश ढाकेका बेलिसराहरु
लडाइँको मोर्चामा हाजिर छन्
अब छिट्टै आउने छ समानताको उज्यालो
प्रत्येक घरबाट निस्कने छ क्रान्तिको ज्वाला
कसैले रोकेर रोकिने छैन
धेरै अगाडि बढि सके
बिजय यात्रामा छन् बेलिसराहरु
सुरज उपाध्याय
( साँस्कृतिक सहिद चुनु गुरुङको शक्तिशाली कविता बेलिसरा माथि लेखिएको अर्को कविता )




