यसपालिको मनसुनलाई बिदाइ गर्दै चाडपर्वको स्वागत गर्ने तयारीमा नेपाली छन् । यसपालिको मनसुनमा पोखराले पहिरोबाट ठूलै क्षति बेहो¥यो, सँगसँगै मनसुनकै कारण अहिले खेतमा धान झल्दै छ, चारैतिर हरियाली छ ।
मनसुनको सौन्दर्य र जोखिम दुवैलाई मान्छेले झेल्नैपर्छ । यिनै सौन्दर्य र खतरालाई नजिकबाट नियालेका कलाकारहरुका चित्र बिहीबारदेखि पोखरामा प्रदर्शनीमा छन् । सिर्जनशील कलाकार समूहले आयोजना गरेको मनसुनः चौथो सामूहिक कला प्रदर्शनी गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सुरुआत गरे ।

असोज ९ गतेसम्म चल्ने प्रदर्शनीमा ४७ कलाकारका कला राखिएका छन् । मन्त्री गुरुङले पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशका सम्भावना कलामार्फत अभिव्यक्त भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले कला, संस्कृतिको उत्थान र प्रवर्धनमा यथोचित ध्यान दिने वाचासमेत गरे ।

आयोजक समूहका अध्यक्ष डिबी गुरुङ कलाकारले मनसुनभरि सङ्गालेका स्मृति र भावनालाई चित्रमा उतारेको उल्लेख गरे । कार्यक्रममा प्राज्ञ बुद्धि गुरुङ, साहित्यकार पद्यराज ढकाल, पोखरा–९का वडाध्यक्ष दीपेन्द्र मर्सानी र समूहका सहसचिव निशान थापामगरले पनि बोलेका थिए ।





