पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।
ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान दिएका कस्कीका ज्येष्ठ नागरिकहरु र पत्रकार पौडेललाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असोज १५ गते सम्मान गरिनेछ । पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका प्रजातन्त्र सेनानी एवम पोखरा वृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष स्वर्गीय ऋषिकेशव पराजुली र उनकी पत्नी लीलादेवीको स्मृतिमा छोरा कुसुमकेशवले पुरस्कार स्थापना गरेका हुन् ।
पौडेल राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख हुन् । पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न पत्रकार महासंघ कास्की पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको संयोजकत्वमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडा सदस्य पार्वती थापा एवं पदेन सदस्यमा वृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ सदस्य रहेको समिति बनाइएको थियो ।
पत्रकारिताको माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले सम्मान गर्दै आएको छ । पत्रकार वासुदेव पौडेललाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिनेछ ।




